सिके राउत १९ माघमा प्रहरीले डेराबाटै उनलाई पक्राउ गरे
सीके राउत जनकपुरको माछा बजार बस्ने कुरा स्थानीयवासीलाई समेत थाहा थिएन । १९ माघमा जब एक दर्जन प्रहरीले डेराबाटै उनलाई पक्राउ गरे त्यसपछि माछाबजारका स्थानीयले राउत आफ्नै टोलमा बसेको थाहा पाए । ‘मधेश बेग्लै राज्य’ हुनुपर्ने माग सार्वजनिक कार्यक्रममार्फत राख्दै आएका उनलाई राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको हो ।
१० मंसिर ०७१ मा उनी पुनः पक्राउ परे । काठमाडौंका खुलामञ्चमा मुलुक विखण्डनको पृष्ठपोषण गर्दै आमसभा गरेपछि उनी पक्राउ परेका थिए । सार्क सम्मेलनका बेला पारेर प्रदर्शन गरेका कारण उनी समातिएका थिए । त्यसबखत उनीलगायत केही समर्थक पनि पक्राउ परे । दुई दिनपछि उनीहरूलाई छोडिएको थियो ।प्रहरीको पक्राउपछि पनि उनका गतिविधि रोकिएनन् । जनकपुर, राजविराज, बारा, नवलपरासी, रूपन्देही, कपिलवस्तु आदि जिल्लामा सार्वजनिक कार्यक्रम गरे । १४ पुस ०७१ मा जलेश्वरको कार्यक्रममा जाने क्रममा पुनः प्रहरीले नियन्त्रणमा लियो र रात परेपछि छोडिदियो । १९ पुसमा विराटनगरमा पनि त्यस्तै सभा गर्दै गर्दा उनी पक्राउ परे र छाडिए । २४ पुसमा वीरगञ्जमा फेरि कार्यक्रमस्थलबाटै पक्राउ परे र सप्तरी लगेर छाडिए । पक्राउ, धरपकड, अदालतको पेसी जारी रहँदै जाँदा १० वैशाख ०७२ मा विशेष अदालतले उनलाई सफाइ दियो । ३ माघ ०७२ मा सर्वोच्चले पनि सफाइ दियो । सर्वोच्चले राउतको गतिविधिले राष्ट्रिय सुरक्षामा कुनै खतरा नभएको भन्दै सफाइ दिएको थियो । राउतले पनि सरकारी वकिलसँगको बयानमा सार्वजनिक कार्यक्रममा राष्ट्र विखण्डनको कुरा नगरेको बयान दिएका थिए । आफूले मधेशका हक/अधिकार र समृद्धिको मुद्दा उठाएको भन्दै विखण्डनको पक्षमा नरहेको बयान दिएपछि उनले सफाइ पाएका थिए । सीके राउत २०७१ सालमा पहिलोचोटी पक्राउ पर्दा मधेशमा त्यसले ठूलै तरंग ल्याएको थियो र प्रतिक्रियामा ठाउँ–ठाउँमा विरोध प्रदर्शनहरू समेत भएका थिए । यसपटक उनको पक्राउ चर्चाको विषय त बन्यो तर त्यसप्रति खासै प्रतिक्रिया भएको पाइएन । सफाइपछि उनले भनेका थिए, ‘हाम्रो अभियान राष्ट्रिय एकतालाई थप मजबुत पार्ने समृद्धिका लागि केन्द्रित छ ।’ राउतले नेतृत्व गरेको ‘स्वतन्त्र मधेश गठबन्धन’को वेबसाइट, उनका केही पुस्तकहरूमा भने उनले विखण्डनको मुद्दालाई उठाएका छन् । उक्त गठबन्धनका उपाध्यक्ष कैलास महतोका अनुसार राउत हालसम्म एक दर्जन भन्दा बढी पक्राउ परिसकेका छन् ।भन्छन, ‘उनीउपर राज्य विप्लव अन्तर्गतका चारवटा मुद्दा अहिले पनि चलिरहेका छन् ।’

0 comments
Write Down Your Responses