सित्तैमा पढाइदिने लोभमा जुम्लाकी एक किशोरी आफ्नै आफन्तजनबाटै बलात्कार
जुम्ला : राजधानीमा लगेर प्राविधिक शिक्षा पढाइदिने लोभमा परेर जुम्लाकी एक किशोरी आफ्नै आफन्तजनबाटै बलात्कारको शिकार बनेकी छिन् ।
जुम्लाकी २० बर्षीया किशोरीलाई राजधानीमा सित्तैमा प्राविधिक शिक्षा पढाइदिने भन्दै होटलमा राखेर तीनदिनसम्म सामुहिक बलात्कार भएको खुल्न आएको छ ।
पढाइदिने बाहानामा काठमाडौंको कलंकीमा रहेको होटलमा सामुहिक बलात्कार गरेको पीडितले उजुरी दिएपछि दुई आरोपीलाई जुम्ला प्रहरीले पक्राउ गरेको छ ।
पीडितका आफन्तका अनुसार घरमा आर्थिक अवस्था कमजोर भएकोले गत मंसिर २८ जुम्लाकी एक किशोरीलाई केही आफन्तले घरबाट नेपालगञ्ज लगेका थिए। आफन्तजनले नै छोरीलाई सित्तैमा प्राविधिक शिक्षा दिलाउनुका साथै जागिर समेत मिलाइदिन्छु भनेपछि घरका परिवारले छोरीलाई उनीहरुसँग पठाएका हुन् । पीडित किशोरीलाई उनीहरुले तीनदिनसम्म नेपालगञ्जमा राखेर काठमाडौंमा जागिर समेत पक्का भएकोले प्राविधिक प्रविणता तहसम्मको प्राविधिक शिक्षा अध्ययन गराइदिने भन्दै काठमाडौंमा लगेका हुन्। देपालगाउँ गाविस–६ का नन्दप्रसाद आचार्य, यशोदा आचार्य, कालिका आचार्य, रुद्र आचार्य, हिमानन्द आचार्य, सोही गाविस–७ का गोविन्द उपाध्यायलगायत होटल मालिकले पुसको ८ गतेदेखि ११ गतेसम्म नसालु पदार्थ सेवन गराइ कलंकीस्थित राजधानी होटेलमा शरीर बन्दक राखेर सामुहिक यौन शोषण गर्दै आएको भन्दै आरोपमा पीडितका आफन्तले कारबाहीको माग गरेका छन् । किशोरिलाई मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा पक्राउ परेका दुई जनामाथि घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक काफ्ले बताए ।
प्रहरीका अनुसार होटेलको माथिल्लो तलामा ट्युशन सेन्टर रहेको र तल्लो तलामा युवतीलाई राखेर नसालु पदार्थ खुवाइ सामुहिक रुपमा बलात्कार गरेको पाइएको छ । होटलबाट बेहोस अवस्थामा उद्दार गरिएकी युवतीको कर्णाली स्वास्थ्य विज्ञान प्रतष्ठानमा उपचारपश्चात थप उपचारको लागि र मानव बेचविखन तथा ओसारपसारका विरुद्ध काम गर्दै आईरहेको शक्ति समूहको समन्वयमा काठमाडौं लगिएको छ । दुईजना जुम्लामा पक्राउ परेपनि बाँकीलाई पक्राउ गर्नको लागि महानगर प्रहरीलाई अनुरोध गरिसकेकोले छिट्टै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने प्रहरीको भनाइ छ । प्रहरीले मानव बेचविखन तथा ओसारपसारविरुद्ध मुद्दा दर्ता गरेपनि शरीर बन्धक तथा सामुहिक बलात्कारविरुद्ध मुद्दा दर्ता नगराएको आफन्तजनको भनाइ छ । महिला तथा बालबालिका कार्यालय जुम्लाका महिला विकास निरीक्षक विन्दु कुवँरका अनुसार यस घटनाका विरुद्ध सामुहिक बलात्कार, शरीर बन्दक र मानव बेचविखन सम्बन्धी जाहेरी दर्ता गरे पनि प्रहरीले केही गर्न सकेको छैन । बलात्कारमा संलग्न होटलका मालिकसहित सबैलाई तुरुन्त कारबाहीको दायरामा ल्याउन आफन्तले माग गरेका छन्।

0 comments
Write Down Your Responses