यो बर्स (इपीएस) कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि १८ गतेसम्म , लाइनमा बस्ने झन्झट मुक्त
४ फागुन, काठमाडौं । नेपालले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम चैत ९ गतेदेखि खुला गर्न प्रस्ताव गरेको छ । र, यो पटक अनलाइन फारम हुनेछ ।चैत ९ देखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्न कोरियाको मानव संशाधन विभागलाई प्रस्ताव पठाइएको इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले अनलाइनखबरलाई जानकारी दिए ।
गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गर्न लागिएको इपीएस शाखाका निर्देश्क खतिवडाले बताए । अनलाइनमा फारम भर्न तोकिएका बैंकमा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइनफारम ‘सब्मिट’ गर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ । गतवर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरेको थियो । अनलाइन प्रयोग भएपछि इन्टरनेट सेवाको पहुँचमा रहेका युवाले सहज रुपमा घरमै बसेर पनि फारम भर्न सक्नेछन् । नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

0 comments
Write Down Your Responses